उर्लाबारी । मोरङको उर्लाबारी-६ स्थित राधिका माध्यमिक विद्यालयले शिक्षक र कर्मचारी नियुक्तिको विषयलाई लिएर सार्वजनिक भएका भ्रामक खबरको पछि नलाग्न सराेकारवाला सबैपक्षसँग आग्रह गरेको छ ।
प्रचलित कानूनी व्यवस्था अनुसार नै कर्मचारी र शिक्षकको नियुक्ति गरिएको जानकारी गराउँदै परीक्षा समितिका संयाेजक चुडामणि नेपालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । नेपालले भने-‘२०७९ साल मंसिर १८ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयबाट लेखापाल र ल्याव सहायक पदको विज्ञापन गरिएको हो ।आवश्यकता सम्बन्धी विज्ञापन नगरपालिका, वडा कार्यालय र विद्यालयमा टाँस गरिएको थियो । विद्यालयकाे वेवसाइटमा समेत विज्ञापन राखिएको भए पनि आवश्यक योग्यता पुगेका निवेदन आएनन् ।’
‘त्यसपछि मंसिर २९ गते निर्णय गरी पुन: विज्ञापन प्रकाशन गरियो । थप एकजना प्रशिक्षक माग गरी विज्ञापन गर्ने निर्णय भयो ।’, नेपालले भने, ‘सोही अनुसार लेखापाल पदको विज्ञापन पुस २ गते दाेस्राेपटक प्रकाशित भयो ।पुनः विद्यालयको वेवसाइट,वडा कार्यालय र नगरपालिकामा समेत विज्ञापन टाँस भयो ।’ प्रशिक्षक पदको विज्ञापन स्थानीय तथा राष्ट्रिय समाचारपत्र दैनिकमा पुस १५ गते प्रकाशित गरिएको स्पष्ट पार्दै उनले विद्यालय व्यवस्थापन समितिको पुस २१ गतेको निर्णय अनुसार विद्यालयले तीन वटै पदको परीक्षा गराउन उर्लाबारी नगरपालिकासँग सहजकर्ता माग गरेको जानकारी गराए ।
नगरपालिकाले विद्यालयको माग अनुसार सबै पदकाे परीक्षा गराउन नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेलाई पठाएको र प्रशिक्षक, ल्याव सहायक र लेखापाल पदको परीक्षा गराउन नगरपालिकाले विज्ञको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उप प्रा.सन्नीकुमार साहलाई ताेकिदिएको समेत प्रष्ट पारेका छन् । त्यस्तै, संयोजककाे जिम्मेवारी विद्यालय व्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापालाई ताेकेर परीक्षा गराउने निर्णय भएको उनको भनाइ छ । सोही अनुसार प्रश्न पत्र निर्माण गरी परीक्षा सञ्चालन गरिएको र प्रशिक्षक पदमा एक जनाको मात्रै आवेदन परेको नेपालको दाबी छ ।
‘हामीले स्थानीय अखबारमै विज्ञापन गर्दा पनि कोही परीक्षार्थी आएनन् । सात दिनको म्यादमा कोही पनि नआएपछि परीक्षा गराउनुको विकल्प थिएन ।’ उक्त विषयबारे प्रस्ट्याउँदै उनले भने, ‘लेखापाल पदकाे परीक्षा सञ्चालन गर्न संयोजक रुद्रप्रसाद न्यौपानेलाई तोकिएको र, विषय विज्ञको रुपमा करुणेश्वर राईलाई नियुक्ति गरिएको थियो ।’ उक्त पदमा पनि दुईजनाको निवेदन परेको उल्लेख गर्दै नेपालले भने, ‘तर, अर्का परीक्षार्थी परीक्षामा सामेल भएनन ।’ कसैले फर्म भरेर पनि परीक्षामा सामेल भएनन् भने त्यसको जिम्मा विद्यालयले लिन नसक्ने विद्यालयको भनाई छ ।
परीक्षा सञ्चालन समितिका सदस्य सचिव समेत रहेका शिक्षक नेपालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकका नातासम्बन्धका व्यक्तिहरु परीक्षामा सामेल भएकाले शिक्षक छनोट समितिमा अध्यक्षको कार्यभार व्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापालाई र सदस्य सचिवकाे जिम्मेवारी वरिष्ठ शिक्षकको हैसियतले आफूलाई दिइएको बताए । ‘विद्यालय सबैको साझा संस्था हो ।’ उनी भन्छन्, ‘ राजनीतिक पूर्वाग्रह साँधेर समाचार आउँदा विद्यालयको भविष्य र यहाँ अध्ययन गर्ने विद्यार्थीको मनोविज्ञानमा असर परेको छ ।’ वैचारिक रुपमा जो भएपनि परीक्षा कानून, विधि र मर्यादा नाघेर नगराएकाे शिक्षकहरू बताउँछन् ।