फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का केसिङ लिम्बू चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित छन्।
कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । त्यसैले, यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने उनको योजना छ । लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गर्थे। कूल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गरेका उनले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन्। “प्रतिमन रू २१ हजारका दरले एउटा सिजनमा ६५ मन चिराइतो बिक्रीबाट रू १३ लाख ६५ हजारसम्म आम्दानी गरे”, उनले भने ।
कोरोना महामारीअघि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा उत्पादन भएको चिराइतो टिप्पताला नाका हुँदै चिनियाँ बजारमा निर्यात हुन्थ्यो । टिप्पताला नाकासम्म हेलिकोप्टरबाट चिराइतो ढुवानी हुन्थ्यो । कोरोना महामारीमा उक्त नाका बन्द भएपछि चिराइतोको कारोबार ठप्प बनेको हो । चार वर्षसम्म चिराइतोको बजार ठप्प भएसँगै लिम्बूले चिराइतो खेती नै छोडेका थिए।
“चार वर्षपछि अहिले चिराइतोले राम्रो बजार मूल्य पाएको अवस्था छ”, व्यवसायी गोविन्द बरालले भने, “चार वर्षअघि प्रतिमन रू पाँच हजारमा झरेको चिराइतोको भाउ अहिले ३० हजारसम्म खरिदबिक्री भइरहेको छ ।” उनका अनुसार पछिल्लो समय भारतीय बजारमा चिराइतोको माग बढ्न थालेको छ । मूल्य बढेसँगै व्यवसायीहरु चिराइतो सङ्कलन गर्न गाउँ-गाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँ-गाउँमा व्यापारी आएसँगै लिम्बू जस्ता किसान फेरि चिराइतो खेतीमा फर्कन थालेका छन् ।
कोरोनाका कारण नाका बन्द हुँदा घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम बिक्री हुन थालेको छ । हिमाली भेगमा मात्र उत्पादन हुने चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने फक्ताङलुङ गाउँपालिका-४ इखाबुका चिराइतो किसान धनबहादुर लिम्बूको भनाइ छ । गाउँघरमा ज्वरो तथा रुघाखोकीका बिरामीलाई चिराइतो खुवाउने चलन छ । आर्थिक वर्ष २०७८/८९ मा पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङ निमित्त प्रमुख एवम् सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए ।
छूट पुर्जीका लागि प्रतिकेजी रू १५ राजस्व जम्मा गर्नुपर्दछ । पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार राजस्व जम्मा भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०७७/७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलनबाट रू दुई लाख ४४ हजार पाँच सय बढी राजस्व सङ्कलन भएको छ । जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको छ ।