मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ । निर्वाचनको नतिजा आएका १६४ निर्वाचन क्षेत्रमध्ये २०७४ को तुलनामा यस पटक महिला सहभागिता बढेको छ । २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा छ जना महिला र उपनिर्वाचनमा एक जना गरी सात जना निर्वाचित भएकोमा अहिलेसम्म नौ जना महिला उम्मेदवारहरू निर्वाचित भएर सांसद बनेका छन् ।
नेपालको संसदीय इतिहास खोज्ने हो भने २०१५ साल फाल्गुन ६ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा डडेलधुराबाट द्वारिकादेवी ठकुरानी तीन हजार ९०३ मत ल्याएर निर्वाचित भएकी थिइन् । नेपालको संसदीय इतिहासमा प्रत्यक्ष निर्वाचनमा सहभागी भएर निर्वाचित भएकी ठकुरानी पहिलो महिला उम्मेदवार हुन् । २०१६ साल जेठ ६ गते गठित मन्त्रिमण्डलमा उनी स्वास्थ्य तथा स्वात्तय शासन उपमन्त्रीमा नियुक्त भएकी थिइन् । उनी नेपाली मन्त्रीमण्डलमा समावेश हुने पहिलो महिला मन्त्री भएको ‘ससंदमा महिला सहभागिता’ नामक पुस्तकमा उल्लेख छ ।
मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागी दुई हजार ४११ उम्मेदवारमध्ये २२५ जना महिला उम्मेदवार थिए । २२५ महिलामध्ये ७७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगको विवरणले देखाउँछ ।
अन्य महिला उम्मेदवारलाई छाडेर जुन दलबाट महिला उम्मेदवार निर्वाचित भएका छन् ती दलमा महिलाको उम्मेदवारी सङ्ख्या हेर्दा नेकपा (एमाले) ले ११ जना महिलालाई चुनावमा खडा गरेकोमा तीमध्ये चार जना निर्वाचित भएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जनालाई चुनावमा सहभागी गराएकोमा दुई जना निर्वाचित भएका छन्, नेपाली कांग्रेसले पाँच जनालाई सहभागी गराएकोमा एक जना, नेकपा (माओवादी केन्द्र) एकल चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भएका आठ जना मध्ये एक जना र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचनमा सहभागी भएका तीनमध्ये एक जना निर्वाचित हुन सफल भएका छन् ।
निर्वाचित भएका नौ महिला सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदबाहेक अन्य महिला उम्मेदवारहरू यसअगाडि कुनै न कुनै रूपमा राजनीतिमा संलग्न थिए । केहीले मन्त्री पद पनि पाइसकेका थिए ।
विभिन्न राजनैतिक दलहरूले महिलाहरू प्रत्यक्षतर्फ निर्वाचन लड्न सक्दैनन् भनेर समानुपातिकमा राख्ने गरेको आरोपमा महिला नेतृहरूले लगाउँदै आएका छन् । उम्मेदवारी मनोनयनमा महिलाको सहभागिता हेर्दा उनीहरूले भनेको कुरामा सत्यता रहेको बुझ्न सकिन्छ ।
अब लागौँ निर्वाचित महिला सांसदबारे
प्रदेश १ को पहाडी जिल्ला तेह्रथुम एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । यहाँबाट एक स्वतन्त्रसहित १० जना चुनावी प्रतिस्पर्धामा थिए तर निर्वाचनको अन्तिम नतिजा आउँदा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसकी सिता गुरुङ निर्वाचित भइन् । गुरुङ १९ हजार ७०७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बिजय सुब्बाले १८ हजार ६३१ मत पाए । गुरुङ एक हजार ७४ मतान्तरले निर्वाचित भएकी हुन् । कम मतको अन्तरले निर्वाचित हुनेमा गुरुङ २३ नम्बरमा पर्छिन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ नेकपा एमाले की भगवती चौधरी तेस्रोपटक नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग चुनावी प्रतिस्पर्धामा थिइन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको सङ्घीय निर्वाचनमा गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । तेस्रो पटकको प्रतिस्पर्धामा सत्ता गठबन्धनको साथ रहेको गच्छदारलाई पाँच हजार १८८ मतान्तरले पराजित गर्दै पूर्व राज्यमन्त्री समेत रहेकी चौधरी निर्वाचित भइन् । निर्वाचित चौधरीले ४० हजार ७८८ मत पाउँदा निकटतम प्रतिस्पर्धी गच्छदारले ३५ हजार ६०० मत ल्याउन सफल भए ।
मधेसमा महिलाहरू पछाडि परेका छन् भन्ने आम मानिसहरूको बुझाई छ तर आठ जिल्ला समावेश भएको मधेस प्रदेशबाट यस पटकको निर्वाचनमा दुई जना महिलाहरू निर्वाचित भएर मधेस प्रदेशमा महिलाहरू पछाडि छैनन् है भन्ने सन्देश दिन सफल भएका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उक्त प्रदेशबाट सहभागी भएका २८ महिला उम्मेदवारमध्येमा कोही पनि निर्वाचित हुन सकेका थिएनन् ।
धनुषा निर्वाचन क्षेत्र ३ मा ३० जना उम्मेदवारलाई पछि पार्दै एमालेकी जुली कुमारी महतो (महासेठ) विजयी भइन् । महतो २०७४ सालमा समानुपातिक कोटाबाट सांसद भएकी थिइन् भने उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अनिल कुमार झालाई नौ हजार ७०२ मतान्तरले पराजित गर्दै महतो निर्वाचित भएकी हुन् । उनी ३३ हजार ३८८ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झा ले २३ हजार ६८६ भोट पाउन सफल भए ।
बारा- ३ मा एमालेकै ज्वाला कुमारी साह जनता समाजवादी पार्टी, नेपालका रामवावु कुमार यादवलाई दुई हजार ९७२ मतान्तरले पराजित गर्दै निर्वाचित भइन् । १७ जना उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गरेकी साहले २० हजार २५१ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी जसपाका यादवले १७ हजार २७९ मत पाउँदै दोस्रो स्थानमा रहे । निर्वाचित साह नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत हुन् ।
पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुने सोविता गौतम र तोसिमा कार्की नयाँ अनुहार हुन् । यी दुवै राजनीति भन्दा पृथक् पेसाबाट आएका उम्मेदवार हुन् । काठमाडौँ-२ बाट निर्वाचित गौतम सबैभन्दा कम उमेरकी सांसद हुन् । निर्वाचन आयोगका अनुसार उनको उमेर २७ वर्ष हो । २९ जना उम्मेदवारलाई पछि पार्दै निर्वाचित भएकी गौतमले १५ हजार २३८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका मणिराम फुयालले ११ हजार ५६६ मत पाए ।
त्यस्तै शल्य चिकित्सक पेसाबाट राजनीतिमा होमिएकी कार्कीले दुई पटक सोही निर्वाचित क्षेत्रबाट निर्वाचित भइसकेकी पम्फा भुसाल, एमालेका अमृत खड्कालगायत २० उम्मेदवारलाई पछि पार्दै विजयी हुन सफल भइन् । कार्की ३१ हजार १३६ मतका साथ निर्वाचित हुँदा एमालेका खड्काले १२ हजार ९६३ मतका साथ दोस्रो स्थानमा रहे भने माओवादी केन्द्रकी पम्फा भुसाल आठ हजार ७९६ मतसहित तेस्रो स्थानमा रहन पुगिन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित विद्या भट्टराई स्व. पर्यटन मन्त्री रवीन्द्र अधिकारीको श्रीमती हुन् । तत्कालीन पर्यटन मन्त्री अधिकारीको ०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । अधिकारीको निधन भएपछि उपनिर्वाचनमा भट्टराई भारी मतान्तरका साथ पहिलो पटक प्रतिनिधिसभा निर्वाचित भएकी थिइन् ।
मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै एमालेबाट उम्मेदवारी दिएकी भट्टराई दोस्रो कार्यकालको लागि सोही क्षेत्रबाट निर्वाचित भएकी छिन् । राजनीतिमा आउनुअघि उनी शिक्षण पेसामा आबद्ध थिइन् । निर्वाचनको अन्तिम नतिजा आउँदा उनले निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिह्नका माधव प्रसाद कँडेललाई चार हजार ५०३ मतान्तरले पछि पार्दै विजयी भइन् । भट्टराई १६ हजार ९९८ मतका साथ निर्वाचित हुँदा घण्टी चुनाव चिह्नका कँडेलले १२ हजार ४९५ मत पाए भने सत्ता गठबन्धनतर्फ नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले नौ हजार ६५९ मत पाउँदै तेस्रो स्थानमा रहे ।
एमाले महासचिव शङ्कर पोखरेललाई झिनो मतले पराजित गर्दै दाङ-२ बाट निर्वाचित भएकी रेखा शर्मा राजनीतिमा नौलो नाम हैन । माओवादी केन्द्रमा आबद्ध भएकी शर्मा दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधि सभामा समानुपातिक कोटाबाट सांसद भइसकेकी थिइन् ।
२०७२ सालमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी शर्मा २६ हजार ८८० मतका साथ निर्वाचित हुँदा लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले २६ हजार ६८६ मत पाए । शर्मा १९३ मतान्तरले निर्वाचित भएकी हुन् ।
कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ सो पार्टीको अध्यक्ष समेत हुन् । २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका रेशम चौधरी निलम्बनमा परेपछि उनले आफ्नै श्रीमती श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी दर्ता गरेका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका राम जनम चौधरीले १८ हजार ८१ मत पाए ।
१५ जना महिला दोस्रो स्थानमा
प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएकामध्ये नौ महिनाहरू निर्वाचित हुँदा १५ जना महिला उम्मेदवार दोस्रो स्थानमा रहन पुगे । तीमध्ये सुनसरी-१ मा अशोक कुमार राईसँग झिनो मतान्तरले पराजित गोमा तामाङ आफूलाई समलिङ्गी भन्न रुचाउँछिन् । राई १७ हजार ५९ मतका साथ निर्वाचित हुँदा तामाङले १६ हजार ६०६ मत पाइन् । दोस्रो नम्बरमा रहेका १५ महिला उम्मेदवार मध्येमा सबैभन्दा कम मतान्तरले दोस्रो स्थानमा रहनेमा पर्छिन् तामाङ ।
तामाङबाहेक अन्य १४ जना महिला उम्मेदवारहरू नेपाली राजनीति चिरपरिचित नाम नै हुन् । कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकसँग पराजित हुन पुगिन् एमाले उम्मेदवार निरु देवी पाल । पालले १८ हजार ४८५ मत पाउँदा लेखक ३० हजार ५७५ मतका साथ निर्वाचित भए । उनीहरूबिच १२ हजार ९० मतको फरक देखियो ।
जुम्ला १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका ज्ञान बहादुर शाही २२ हजार ८१९ मतका साथ निर्वाचित हुँदा दोस्रो स्थानमा रहेकी गोमा गौतम (कुँवर) ११ हजार ९५९ जनाको रोजाइमा परिन् ।
दाङ ३ बाट पराजित कोमल वलीलाई २९ हजार ९२ मतदाताले रुचाए । त्यस क्षेत्रबाट नेपाली कांग्रेसका दीपक गिरी ३६ हजार ९११ मतका साथ निर्वाचित भए ।
पूर्व खानेपानी मन्त्री समेत रहेकी बीना मगर यस पटकको निर्वाचनमा पराजित हुन पुगिन् । अघिल्लो पटक धेरै मतान्तरले पराजित हुने सांसदको सूचीमा आठौँ नम्बरमा रहेकी मगरले यस पटक मतदाताको भोट तान्न सकिनन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर-१ बाट ३८ हजार ४६७ मत पाएकी मगरले यस पटक भने १९ हजार ४०० मतमै चित्त बुझाउनुपर्यो ।
दोस्रो स्थानमा रहेका महिला उम्मेदवारहरू र विजेताको विस्तृत विवरण तालिका
प्यूठानबाट दोस्रो पटक सांसद बन्ने अवसरबाट वञ्चित हुन पुगिन् राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको साथ पाएर उक्त पार्टीबाट एक्लो सांसद बनेकी पौडेल यस पटक नेकपा एमालेका सूर्य बहादुर थापा क्षेत्रीसँग पराजित हुन पुगिन् ।
दुई नगरपालिका र नौ गाउँपालिकाका ६४ वडा समेटिएर बनेको प्युठान जिल्लामा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका ३३८ जनप्रतिनिधिमध्ये राजमोबाट १९ दशमलव ५३ अर्थात् ६६ जना मात्रै निर्वाचित थिए ।
राजमोबाट कम जनप्रतिनिधि निर्वाचित भएकाले उक्त क्षेत्र सत्ता गठबन्धनको सिट बाँडफाँडमा नेपाली कांग्रेसले नै पाउनुपर्छ भन्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाकोमा परिपत्र नै पुगेको थियो ।
पहिलो संविधानसभा र २०७४ को प्रतिनिधि सभामा समानुपातिक कोटाबाट सांसद भइसकेकी शान्ता चौधरी यस पटक प्रत्यक्ष चुनाव लडेर सांसद बन्न चाहन्थिन् । दाङ-१ मा उनी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीसँग पाँच हजार ८३ मतले पराजित हुनुपर्यो । दोस्रो स्थानमा रहेकी चौधरीलाई २१ हजार ४९३ मतदाताले रुचाए पनि त्यो सङ्ख्या जितको लागि काफी भएन ।
गत स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाको गलकोट नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएर पराजित भएकी मन्जु शर्मा यस पटक नेकपा माओवादी केन्द्र को तर्फबाट बागलुङ क्षेत्र नम्बर २ मा शिक्षामन्त्री समेत रहेका देवेन्द्र पौडेलसँग पराजित हुन पुगिन् । २० हजार १९३ मतदाताले शर्मालाई भोट दिए पनि उनी चार हजार ६०१ मत कम पाउँदा दोस्रो स्थानमा रहन पुगिन् ।
दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेकी गौरी कुमारी ओलीको यस पटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएर सांसद बन्ने चाहना अधुरै रह्यो । एमालेको केन्द्रीय सदस्य समेत रहेकी ओली पूर्वपर्यटनमन्त्री प्रेम आलेसँग चार हजार २०६ मतान्तरले पराजित हुन पुगिन् । ओलीले २३ हजार ४ मत ल्याउँदा एकीकृत समाजवादीका आले २७ हजार २१० मतका साथ निर्वाचित हुन पुगे ।
संसदीय निर्वाचनमा लगातार दोस्रो पटक पराजित हुने महिला उम्मेदवारमा पर्छिन् महालक्ष्मी उपाध्याय (डिना) । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह २७ हजार ८५१ मतका साथ निर्वाचित हुँदा डिनाले अघिल्लो निर्वाचनमा भन्दा कम मत पाइन् ।
२०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट ३४ हजार ९० मत पाएर दोस्रो स्थानमा रहेकी उपाध्यायले यस पटक २५ हजार ४६४ मत पाइन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सह-महामन्त्रीमा निर्वाचित भइसकेपछि पनि कम मत पाउनुलाई गम्भीरताका साथ लिनुपर्ने देखिन्छ ।
डिना जस्तै लगातार दोस्रो पटक पराजय भोग्नेमा पर्छिन् एमाले उम्मेदवार मन्जु कुमारी चौधरी । उदयपुर क्षेत्र नम्बर १ मा अघिल्लो पटक ५४८ मतान्तरले नेपाली कांग्रेसका डा. नारायण खड्कासँग पराजित भएकी चौधरी यस पटक पनि खड्कासँग पराजित हुन पुगिन् । अघिल्लो निर्वाचनको तुलनामा यस पटक उनी धेरै मतान्तरले पराजित हुन पुगेकी हुन् । खड्का ३१ हजार २७० मतका साथ निर्वाचित हुँदा चौधरीले २८ हजार ८९१ मत पाइन् । यस पटक उनी दुई हजार ३७९ मतले पराजित हुन पुगिन् ।
पहिलो पटक प्रत्यक्ष निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट सहभागी भएकी पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी रामकुमारी झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित हुन् पुगिन् । विष्ट लगातार चौथो पटक सांसद छिर्दा झाँक्री पहिलो प्रयासमै असफल भइन् । यसअगाडि उनी समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।
विष्ट २८ हजार ४७६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४४१ मत पाइन् । सत्ता गठबन्धनको साथ र समर्थन भएता पनि झाँक्रीलाई सांसद बन्नको लागि २ हजार ३५ कम भयो ।
उपसभामुख समेत रहेकी पुष्पा भुसाल (गौतम) अर्घाखाँची क्षेत्र नम्बर १ मा एमालेका टोप बहादुर रायमाझीसँग पराजित हुन पुगिन् । भुसालले ४० हजार ९४५ मत पाएता पनि उक्त सङ्ख्याले उनलाई विजयी बनाउन सकेन । रायमाझी त्यस क्षेत्रबाट ४२ हजार ६७५ मतका साथ निर्वाचित भए ।
२०६५ सालमा उपप्रधानमन्त्री समेत भइसकेकी सुजाता कोइराला मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलसँग एक हजार २०८ मतान्तरले पराजित हुन पुगिन् । पराजित भएपछि आफू हार्नुमा नेपाली कांग्रेसकै नेताहरूको हात रहेको उनले सार्वजनिक अभिव्यक्ति दिइरहेकी छन् । पोखरेल ३३ हजार १४८ मतका साथ निर्वाचित हुँदा दोस्रो स्थानमा रहेकी कोइरालाले ३१ हजार ९४० मत पाइन् ।
२०५६ देखि २०६४ सालसम्म उपसभामुख रहेकी चित्रलेखा यादवको यस पटकको ससंद यात्रा रोकियो । सिराहा क्षेत्र नम्बर २ मा उनी जसपाका राज किशोर यादवसँग एक हजार १५० मतको अन्तरले पराजित हुन पुगिन् । जसपा यादव २४ हजार १७८ मतका साथ निर्वाचित हुँदा दोस्रो स्थानमा रहेकी यादबले २३ हजार २८ मत पाइन् ।
जो तेस्रो स्थानमा रहे
१४ महिला उम्मेदवार यस निर्वाचनमा तेस्रो स्थानमा रहन पुगे । राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना, हँसिया हथौडा र घण्टी चुनाव चिन्हका तीन/तीन जना, स्वतन्त्र उम्मेदवारी दिएका दुई जना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एक जना महिला उम्मेदवार तेस्रो स्थानमा रहन पुगे ।
राप्रपाबाट चुनावमा सहभागी भएका रेखा थापा(मोरङ-३), कुन्ती देवी पोखरेल (उपाध्याय)- (काठमाडौँ- २), सविता शर्मा (कपिलवस्तु-२), लीला रावल (रोल्पा-१), कुन्ती कुमारी शाही (दैलेख-१) तेस्रो स्थानमा रहन पुगे ।
नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएकी पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पुत्री अस्मिता सिंह (मानुषी) यमि भट्टराई (काठमाडौँ-७), कल्पना धमला (काठमाडौँ-९) र पम्फा भुसाल (ललितपुर-३) पनि तेस्रो स्थानमा रहन पुगे ।
तेस्रो स्थानमा रहने महिला उम्मेदवारमा घण्टी चुनाव चिह्नका वसु माया तामाङ (धादिङ-२), जीता वराल (चितवन-३), तिला खत्री (बागलुङ-२) पनि हुन् ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सर्लाही- ४ की मधुमाला कुमारी यादव र गुल्मी-२ की कमला पुन पनि दोस्रो स्थानमा रहँदा भक्तपुर २ बाट उम्मेदवारी दिएकी नेमकिपाकी अनुराधा थापा मगर पनि दोस्रो स्थानमा रहन पुगिन् ।
१०० भन्दा कम मत पाउने १११ जना
एक सय भन्दा कम मत पाउने महिला उम्मेदवारको सङ्ख्या १११ रहेको छ । यीमध्ये स्वतन्त्र उम्मेदवारी दिएका ६६ जना छन् भने नेमकिपाका ७ जना, राष्ट्रिय जनमुक्ति र नेश्नलिष्ट पिपल्स पार्टीका समान पाँच /पाँच जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनसमाजवादी पार्टी नेपालका समान चार/चार जना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मौलिक जरोकिलो पार्टीका तीन/तीन जना रहेका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, मंगोल नेशनल अर्गनाइजेसन र आमूल परिवर्तन मसिहा पार्टी नेपाल का दुई/ दुई जना महिला उम्मेदवारले १०० भन्दा कम भोट पाएका छन् ।
पिछडावर्ग निषाद दलित जनजाती पार्टी, नेपाली कांग्रेस (बी.पी.), नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल आमा पार्टी(एकल चुनाव चिन्ह), जनजागरण पार्टी नेपाल र एकीकृत शक्ति नेपाल पार्टीबाट उम्मेदवारी दिएका एक/एक महिला उम्मेदवारहरूले १०० भन्दा कम भोट पाएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।
१०० भन्दा कम मत पाउने महिला उम्मेदवारको सङ्ख्या
निर्वाचनमा सहभागी भएका २२५ महिला उम्मेदवार मध्येमा दुई जना महिला उम्मेदवारले जम्मा एक भोट पाएका छन् । एक मात्र भोट पाउने उम्मेदवारको सङ्ख्या नौ रहेको छ भने बाँकी सात जना पुरुष उम्मेदवार हुन् ।
नोट: १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा तयार पारिएको यो सामाग्री अन्य निर्वाचन क्षेत्रको नतिजा आएसँगै अपडेट गरिएको हो ।
मङ्सिर १५, २०७९ मा पहिलोपटक प्रकाशित यस सामाग्रीलाई पुन: प्रकाशन गरिएको हो । सम्पादक