काठमाडौँ । कोभिड- १९ को प्रभाव पछि नेपालमा पर्यंटन व्यवसायसँग जोडिएको सबै क्षेत्रको अवस्था डामाडोल बनेको छ । यस क्षेत्रसँग आबद्ध लाखौं मजदुरहरुको अवस्था पनि नाजुक बनेको छ । काठमाडौं ठमेलका रिक्साचालक मात्र नभइ हिमालको चुचुरोसम्म पर्यटक तथा आरोहीहरुलाई साथ दिनेहरु सबैको अवस्था दयालाग्दो छ ।
कोभिड १९ को कारण पर्यटनसंग प्रत्यक्ष जोडिएका १० देखि १२ करोडको रोजगारी जोखिममा पर्दा नेपालमा पनि ठूलो संख्यामा मजदूरहरु मारमा परेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरि १२ लाख बढी मानिस नेपालको पर्यटन क्षेत्रसंग जोडिएको आंकडा छ । तर अहिले न ठमेलका रिक्सा चालकले पर्यटकलाई आफ्नो रिक्सामा चढाउन पाएका छन् न पर्यटकको सामान बोकिदिने भरियाले भारी उचाल्न पाएका छन् ।
भनिन्छ( एक जना पर्यटक नेपाल भित्रँदा नौ जनासम्मका लागि रोजगारी श्रृजना गरेर भित्रन्छन् । तर नेपालमा पर्यटक भित्रन नपाएको लगभग डेढ वर्षभन्दा बढी भइसकेको छ ।
दक्षिण एसियाली छिमेकीहरु भूटान र माल्द्धिभ्सले पर्यटकीय गतिविधि खोलिसकेको अवस्थामा अब नेपालमा पनि सबै सतर्कता पूरा गरेर पर्यटकहरु आवागमन खुल्ला गरिनु पर्ने माग चौतर्फी उठ्न थालेको छ । विमानस्थलदेखि होटलसम्म र काठमाडौंदेखि जिल्लासम्म एवं शहरदेखि गाउँसम्म पर्यटकका लागि लगाइएको झञ्झटिलो प्रावधान हटाउनु पर्ने मागहरु पनि उठन थालेका छन् ।