पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाले व्यक्तिगत घटना अनलाइनबाट दर्ता कार्य शुरु गरेको छ । गाउँपालिकामा रहेका सातवटा वडामध्ये वडा नं २ र ३ मा नियमितरुपमा अनलाइन जडान गरी व्यक्तिगत घटना दर्ता शुरु गर्ने अभियानको शुरुआत गरेको हो । जन्म, मृत्यु, विवाह, बसाइँ सराइ तथा सम्बन्ध विच्छेदका घटनालाई ‘भर्स एमआइएस सिस्टम’ मा दर्ता गरी डिजिटल प्रमाणपत्र वितरण गर्न लागिएको आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए । उनले भने, “मानिसको जीवनमा घटने दैनिकजसो घटनालाई हामीले अब अनलाइन सिष्टमबाट दर्ता गर्न शुरु गरेका छौँ, जसले गर्दा नागरिकलाई निकै राहत हुने छ ।”
गाउँपालिकाले व्यक्तिगत घटना प्रमाणपत्र वितरण गर्न आगामी दिनमा पालिकाका सबै वडामा अनलाइन सेवा शुरु गर्ने जनाएको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई सरल, सहज र व्यवस्थित बनाउन पुराना सबै घटना दर्ता किताब (ढड्डाहरु) डिजिटलाइजेशन भइसकेको र अब अनलाइन सिस्टमबाट दर्ता गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतबहादुर परियारले जानकारी दिए । सरकारबाट पाइने महत्वपूर्ण सेवा सुविधा सामाजिक सुरक्षा भत्तामा कोही नछुटून र कोही नदोहोरिऊन भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सामाजिक सुरक्षालाई पारदर्शी र चुहावटरहित बनाउन सामाजिक सुरक्षा भत्तालाई आर्थिक वर्ष २०७८-७९ को पहिलो चौमासिकदेखि अनिवार्य बैंकबाट भत्ता वितरण गर्ने गरी बैंकसँग सम्झौता कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना कार्यक्रमको सन् २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई शत्प्रतिशत पु¥याउने लक्ष्यलाई सफल पार्न गाउँपालिकाले केही दिनभित्रमै सबै वडामा दर्ता शिविर सञ्चालन गर्ने गृहकार्य शुरु गरिसकेको आदर्श गाउँपालिकाका अपरेटर गीताकुमारी कठायतले जानकारी दिइन् ।