सरकारले अहिलेसम्म पनि विद्यालय खोल्ने निर्णय गरेको छैन तर साउनको दोस्रो साता मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय गर्यो ।
गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई सुरु गर्यो ।
अहिले प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । कट्याक्ट ट्रेसिङका क्रममा शिक्षकको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा २५ गते संक्रमण पुष्टि भयो । त्यसले सिंगो गाउँ त्रासमा परेको छ ।
शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहेका केही शिक्षकले कोरोना परीक्षणका लागि स्वाब दिए । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना प्राथमिक र एक जना माध्यमिक तहका शिक्षक हुन् ।
थप ५ जना शिक्षकले पीसीआर टेष्टका लागि आइतबार स्वाब दिएका छन् । विद्यार्थी र अभिभावकलाई घरमै बस्न आग्रह गरिएको छ । तर अभिभावकहरु भने त्रासमा छन् ।