काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। आज हुने खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ।
काठमाडौँ गोर्खाज आफ्नो पहिलो जितको खोजीमा मैदानमा उत्रँदैछ। यसअघि खेलेका खेलमा जित निकाल्न नसकेको काठमाडौँलाई आजको खेल जित्नुपर्ने दबाब छ।
यता, कर्णाली याक्सले भने सुरुआती दुई खेल जित्दै चार अङ्क जोडिसकेको छ। लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित कर्णाली मैदानमा उत्रनेछ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा मात्रै जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ। चौथो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्य सुदूरपश्चिमको हुनेछ।
अर्कोतर्फ, चितवन राइनोजले अहिलेसम्म खेलेका दुई खेलमा हार बेहोरेको छैन। एक खेलमा जित निकालेको चितवनले अर्को खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँडेको थियो। चितवन आज पनि आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।