काठमाडौं। नेपाली काँग्रेसले १५औँ महाधिवेशनबाट पारित नीति तथा निर्णय जनतामाझ पुर्याउन र पार्टी संगठन सुदृढ गर्न मंसिरभर ‘काँग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।
बिहीबार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले अभियान घोषणा गरेका हुन्। उनले महाधिवेशनमा विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब मुलुकका समस्या समाधान गर्ने जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताए।
‘हामी नेपालका आजका समस्याहरू समाधान गर्नका लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ,’ थापाले भने, ‘हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारीसमेत ठीक ढंगले वहन गर्न तयार छौँ।’
थापाले पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षी र स्थानीय तहको जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन नेता–कार्यकर्तालाई निर्देशन दिए। अभियानका बाँकी कार्यक्रम पार्टी कार्यालयले तय गर्ने उनले बताए।
आगामी तिहार र छठका अवसरमा पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि उनले निर्देशन दिए। चाडपर्वलाई रमाइलोमा मात्र सीमित नराखी सामुदायिक तथा सार्वजनिक काममा समर्पित गर्नुपर्ने उनको भनाइ थियो।
विपद्का कारण मुलुक असहज अवस्थामा रहेकाले पार्टीको कोषमा रहेको रकमसमेत सदुपयोग गर्नुपर्ने थापाले बताए। उनले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई टोल र वडामा पुगेर सम्मानका कार्यक्रम आयोजना नगर्न निर्देशन दिँदै जिम्मेवारी सम्हालेपछि जनतामाझ पुगेर काम गर्न आग्रह गरे।