नुवाकोट । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले प्रशासनिक झन्झट हटाउने हो भने निर्माण व्यवसायीले तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न सक्ने बताएका छन्।
नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले विकास निर्माणमा लामो प्रशासनिक प्रक्रिया प्रमुख बाधक रहेको बताए। ५० ठाउँमा हस्ताक्षर गर्नुपर्ने झन्झटिलो प्रक्रियाले काममा ढिलाइ हुने गरेको उनको भनाइ थियो।
विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक अवरोध नहुँदा एक महिनाभित्रै पुल निर्माण सम्पन्न गरेर स्थानीयको आवतजावत सहज बनाइएको उदाहरण प्रस्तुत गर्दै पाण्डेले निर्माणमा हुने ढिलाइको दोष व्यवसायीलाई मात्र दिनु गलत भएको बताए।
भदौ १९ गते स्थलगत निरीक्षणमा पुग्दा सरकारी संयन्त्रसँग विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको अभाव देखिएपछि निर्माण व्यवसायीले आफ्नै स्रोतसाधन परिचालन गरेको उनले बताए। बेत्रावती क्षेत्र तथा आसपासका खोलामा बेलिब्रिज र अन्य संरचना निर्माणमा निजी क्षेत्रले पुर्याएको योगदानको उचित कदर हुन नसकेको उनको गुनासो थियो।
‘कुनै पनि प्रशासनिक झमेला भएन भने निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न गर्न सक्छन् भन्ने उदाहरण यो हो,’ पाण्डेले भने, ‘आफ्नै परिवार र आफन्त गुमाउँदासमेत पीडा बिर्सेर स्थानीय व्यवसायीले उद्धार र निकासका लागि एक्स्काभेटरलगायत उपकरण उपलब्ध गराएका थिए। निजी क्षेत्रको यो योगदानलाई सञ्चारमाध्यम र राज्य संयन्त्रले पनि निष्पक्ष रूपमा प्रस्तुत गर्नुपर्छ।’
महासङ्घले राज्यको विपद् कोषमा हालसम्म करिब १० करोड रुपैयाँ जम्मा गरिसकेको जानकारी दिँदै उनले निर्माण प्रक्रियाका अवरोध हटाउन सरकारसँग माग गरे।
नवनिर्मित पुलबाट दैनिक ७ हजार ५०० भन्दा बढी सर्वसाधारण, विद्यार्थी र बिरामी लाभान्वित भइरहेको उल्लेख गर्दै पाण्डेले आगामी चाडपर्वमा आवतजावत थप सहज हुने विश्वास व्यक्त गरे।