काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६३४ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६० जना, सिसीटिभीमार्फत पहिचान भएका ५३ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने २८ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना रहेका छन्।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन अनुशासन उल्लंघन गर्ने पाँच जना, सवारीसाधनको अवस्था ठीक नरहेका १२ जना तथा एकतर्फी सडकको नियम पालना नगर्ने पाँच जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३७३ जना चालकलाई समेत जरिवानासहित कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ। प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
सवारी नियमको पालना चालकको जिम्मेवारीसँगै पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षासँग पनि प्रत्यक्ष जोडिएको भन्दै प्रहरीले सबैलाई सडक अनुशासन कायम राख्न अनुरोध गरेको छ।