काठमाडौँ । नेपाल सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ ।
समितिले शनिबार सूचना जारी गर्दै प्रस्तावित राजदूतमध्ये कुनै व्यक्ति नियुक्तिका लागि उपयुक्त नरहेको लागेमा त्यसको स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।
समितिका अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न सकिनेछ । उजुरीमा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा उजुरीको स्पष्ट आधार र प्रमाण खुलाउनुपर्नेछ ।
प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरिने समितिले जनाएको छ । समितिको असोज ८ गते बसेको बैठकले राजदूत सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस भएका छन् ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ ।
संसदीय सुनुवाइ सम्पन्न भएपछि प्रस्तावित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।