काठमाडौँ । नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।
सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। भेटमा नेपाल र सेनेगलबीच पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको थियो।
वार्ताका क्रममा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्पछि भइरहेको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे पनि विचारविमर्श भएको थियो। दुवै मन्त्रीले नेपाल र सेनेगल तथा दुवै देशका जनताबीच साझा प्रगति र समृद्धिका लागि द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्नुपर्नेमा जोड दिए।
सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १८८ पुगेको छ।