काठमाडौं। रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणसम्बन्धी उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ।
बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको उपस्थितिमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नास्टलाई आवश्यक उपकरण तथा सामग्री हस्तान्तरण गरे।
बाढीपछि ठूलो संख्यामा शव तथा मानव अवशेषको डीएनए परीक्षण गर्नुपर्ने भएपछि नास्टमा पनि परीक्षण सुरु गरिएको हो। नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलका अनुसार हालसम्म नास्टले करिब ८०७ नमुना प्राप्त गरेको छ।
नास्टले नमुनाको डीएनए प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक निकायलाई उपलब्ध गराउनेछ। अन्तिम विश्लेषण र पहिचानका लागि डेटासँग मिलान गर्ने जिम्मेवारी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक संयन्त्रको हुनेछ।
‘दुईवटा ल्याबले मात्र गरेर सम्भव हुने अवस्था थिएन,’ पौडेलले भने।
चिनियाँ विज्ञले नेपाली वैज्ञानिकलाई उपकरण प्रयोग, तालिम र प्राविधिक सहयोग दिइरहेका छन्। नास्टका अनुसार मानव अवशेषबाट डीएनए निकाल्ने काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार भइरहेको छ र चिनियाँ प्रविधिले परीक्षणलाई तीव्र बनाउन सहयोग पुगेको छ।