खोटाङ । नेपाल बार एसोसिएसन खोटाङ एकाइले जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर अदालत तथा न्यायाधीशविरुद्ध सार्वजनिक रूपमा गरिएका अपमानजनक टिप्पणी र आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बार एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै असोज ५ गते जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक स्थानमा अदालत तथा न्यायाधीशको मानप्रतिष्ठामाथि आँच पुग्ने गरी गरिएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका परियारको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते सफाइ दिएको थियो । फैसलापछि पीडित परिवार तथा आफन्तले अदालत परिसरमै आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए ।
नेपाल बार एसोसिएसन खोटाङ एकाइका अध्यक्ष कुलप्रसाद शर्मा फुयालद्वारा जारी विज्ञप्तिमा न्यायिक फैसला तथा आदेशप्रति चित्त नबुझे प्रचलित कानुनबमोजिम पुनरावेदन, पुनरावलोकन तथा निवेदनलगायत न्यायिक उपचारका माध्यम अपनाउन प्रत्येक पक्षलाई अधिकार रहेको उल्लेख गरिएको छ ।
तर, फैसलाप्रति असहमति व्यक्त गर्ने नाममा अदालत वा न्यायाधीशको इज्जत, मानप्रतिष्ठा, चरित्र तथा निष्ठामाथि प्रश्न उठाउने, अपमानजनक वा लाञ्छनायुक्त अभिव्यक्ति दिने र विषयलाई अतिरञ्जित रूपमा प्रचार गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता तथा जनआस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
न्यायिक निर्णयप्रति असहमति व्यक्त गर्दा तथ्य र कानुनमा आधारित भएर मात्र धारणा राख्नुपर्नेमा जोड दिँदै बारले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्नु सबैको कर्तव्य भएको जनाएको छ ।
रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेका हेमन परियार, दीपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका दीपक श्रेष्ठलाई अदालतले सफाइ दिएको हो ।
उच्च अदालतको आदेशमा पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूविरुद्धको आरोप प्रमाणित नभएपछि सफाइ दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।
घटनामा संलग्न रहेको आरोप लागेका बतासेका १६ वर्षीय एक किशोर भने यसअघि नै दोषी ठहर भई कारबाही भोगिरहेका छन् । १८ वर्षभन्दा कम उमेरका भएकाले उनको नाम गोप्य राखिएको छ । उनी अदालतको आदेशअनुसार सुधारगृहमा बसेर सजाय भुक्तान गरिरहेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका विसं २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीच पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो ।
सहकारीको कार्यालयबाट हिँडेकी रेश्मिका राति अबेरसम्म घर नफर्किएपछि खोजी गरिएको थियो । खोजीका क्रममा सडकबाट करिब २०० मिटर तल बाँसघारीमा उहाँको शव फेला परेको थियो ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकको कुनामा भेटिएको थियो भने सडकदेखि शव फेला परेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको थियो । झाडी मडारिएको स्थानभन्दा केही तल रेश्मिकाको झोला र अन्डरवेयरसमेत भेटिएको बताइएको छ ।
प्रहरीका अनुसार रेश्मिकाको शव सबैभन्दा तल घाँटीमा कालो सल बेरिएको अवस्थामा फेला परेको थियो । अन्डरवेयर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गर्दै आएका छन् ।