भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ। दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको प्रहरीले जनाएको छ।
एक महिनामा जिल्लामा भएका अपराधका घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार भदौ महिनामा जघन्य अपराधतर्फ हत्या एक, जबर्जस्ती करणी पाँच, लागुऔषध तीन र हातहतियार तथा खरखजनासम्बन्धी एक गरी १० वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दा आवश्यक कारबाहीका लागि अघि बढाइएको उनले बताए।
आर्थिक अपराधतर्फ ९६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये बैंकिङ कसुरका ७७ र ठगीका १९ वटा मुद्दा रहेका छन्। प्रहरीले १२ वर्ष पुरानो सवारी ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई समेत पक्राउ गरेको जनाएको छ।
यसैगरी, अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ६५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको छ भने एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएका छन्। घरेलु हिंसातर्फ भने १३ वटा उजुरी परेको प्रहरीले जनाएको छ।
भदौ महिनामा भक्तपुरमा २३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ९४७ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले १३ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।
यसैबीच, प्रहरीले सिर्जनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गरेको छ। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए।