काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने सवारीसाधनका लागि बीपी राजमार्ग प्रभावित भएको छ। बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू पनि प्रभावित भएका छन्। प्रहरीले अर्को सूचना जारी नभएसम्म ती सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहने जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेको छ। उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी लोकमार्ग प्रभावित भएको छ। ती दुवै स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ।
यस्तै, कोशी प्रदेशअन्तर्गत संखुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भीरमा पहिरो खस्दा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।