काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हित र जलवायु परिवर्तनका मुद्दा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ शृंखला ‘हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवादमा थापाले महासभामा सहभागी हुन पहिलोपटक जान लागेको भन्दै प्रधानमन्त्रीले आत्तिनुपर्ने अवस्था नरहेको बताए।
उनले विगतका सरकारको विरासत बोकेर र आगामी सरकारको अगुवाका रूपमा महासभामा निर्धक्क भएर नेपालको धारणा राख्न प्रधानमन्त्रीलाई आग्रह गरे। सिंगो देशको प्रतिनिधित्व गर्दै सबै नेपालीको भावना समेटेर नेपालको मुद्दा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।
जलवायु परिवर्तनका विषयमा नेपालमै अध्ययन तथा अनुसन्धान गरिरहेका विज्ञ र अध्येतासँग सुझाव लिएर प्रमाणसहित महासभामा प्रस्तुत हुन थापाले आग्रह गरे। नेपालले महासभामा कुन विषयमा आवाज उठाउने र कुन मुद्दाका लागि स्पष्ट रूपमा लड्ने भन्ने प्रस्ट हुनुपर्ने उनले बताए।
थापाले भने, ‘तपाईं हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। योभन्दा अगाडिका सरकारको पनि विरासत बोकेर र योभन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ।’
उनले जलवायु परिवर्तनको मुद्दालाई नेपालको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै विपद् प्रभावित क्षेत्रमा तत्काल बस्ती बसाउने कि नबसाउनेदेखि सम्बन्धित संस्थालाई कसरी बलियो बनाउने भन्नेसम्मका विषय स्पष्ट रूपमा उठाउनुपर्ने बताए।
‘अनुमानका आधारमा नभई प्रमाणका आधारमा राख्नुपर्छ,’ थापाले भने।
उनले नेपालले हरेक क्षेत्रमा जलवायु परिवर्तनका प्रभावलाई प्रमुख प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणसहित आफ्ना विषय प्रस्तुत गर्नुपर्ने बताए।