काठमाडौं। भोटेकोशी बाढीले सडकको तल्लो भाग बगाएपछि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। पहिरोको जोखिम कायम रहेकाले सडक विभागले विज्ञको परामर्शमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनको तयारी गरेको हो।
सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार ट्र्याक खोल्ने परीक्षण सफल भए पनि ग्राभेल बिछ्याउने, सब–सर्फेस ड्रेनेज तथा सक्रिय पहिरो क्षेत्रमा फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम बाँकी छ।
आइतबार ग्यास बुलेट पार गराएर ट्र्याकको परीक्षण गरिएको थियो। बाँकी काम पूरा गरेर असोज १ देखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताए।
कृष्णभीर पुरानो पहिरो सक्रिय क्षेत्र भएकाले माथिबाट पहिरो खसेमा वा अन्य प्राविधिक समस्या आएमा अवस्थाअनुसार निर्णय गरिने उनले बताए। भोटेकोशी बाढीले परेवाभीर, कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको छ।
‘विपद्को समयमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न म यात्रुहरूलाई अनुरोध गर्दछु,’ न्यौपानेले भने।
बाढी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक मर्मत, सुधार तथा पुनर्निर्माण अघि बढाइने विभागले जनाएको छ।