काठमाडौँ — नेपाली महिलाको प्रमुख पर्व हरितालिका (तीज) आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज नेपाली नारीले दर खाएर तीजको सुरुवात गर्ने परम्परा छ।
तीजको पहिलो दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने चलन छ। दरमा विशेषगरी दूधबाट बनेका पौष्टिक तथा आडिला परिकार खाने गरिन्छ। गहुँको रोटी र घिउजस्ता परिकार व्रत बस्ने महिलाका लागि उपयोगी हुने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्। शास्त्रीय मान्यताअनुसार भोलिपल्टको निराहार व्रतका लागि दर दुई प्रहर रात बाँकी रहँदै खानुपर्ने व्यवस्था छ।
तीज धार्मिक पर्व मात्र नभई महिलाले आफ्ना वर्षभरिका दुःख, पीडा र अनुभूति गीत तथा भाकामार्फत व्यक्त गर्ने अवसरका रूपमा पनि स्थापित छ। जन्मघर छाडेर कर्मघर पुगेपछि भोग्नुपरेका सुख–दुःख र सामाजिक अनुभवलाई महिलाले तीजका गीतमार्फत सार्वजनिक गर्ने गरेका छन्।
यद्यपि पछिल्ला वर्षमा तीजका नाममा बढ्दै गएको तडकभडक र प्रदर्शनप्रति चिन्ता व्यक्त हुन थालेको छ। महिनौँ अघिदेखि दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले तीजको मौलिक संस्कृति कमजोर बनाउँदै लगेको समाजशास्त्री कीर्तिकुमार राईको भनाइ छ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको अघिल्लो साँझ दर खाने शास्त्रीय परम्परा रहेको हो।
दर खाएसँगै सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चतुर्थीका दिन गणेश पूजा तथा पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुने परम्परा छ।
पार्वतीको तपस्यासँग जोडिएको हरितालिका
हरितालिका तीजसँग जोडिएको पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले उनलाई लुकाएर राखेको धार्मिक मान्यता छ।
साथीहरूले लुकाएको स्थानमै पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको कथा पुराणहरूमा उल्लेख छ। पार्वतीलाई उनका साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको धार्मिक मान्यता रहेको छ।