तेहरान – अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमसम्बन्धी विषय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लैजाने तयारी गरेका छन् । चार देशले संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था आईएईएको ‘बोर्ड अफ गभर्नर्स’समक्ष इरानले आणविक अप्रसारसम्बन्धी कानूनी दायित्व पूरा नगरेको भन्दै प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् ।
इरानको आणविक कार्यक्रमलाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय दबाब थप बढ्दै गएको छ । सन् २०२५ मा आईएईए बोर्डले करिब दुई दशकपछि पहिलोपटक इरानले आणविक अप्रसारसम्बन्धी आफ्ना दायित्व पालना नगरेको ठहर गरेको थियो ।
हाल प्रस्तावमाथि चार देशबीच छलफल भइरहेको छ र यसलाई आईएईए बोर्डमा औपचारिक रूपमा पेस गरिएको छैन । प्रस्तावमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई प्रस्ताव तथा यसअघि पारित निर्णयहरू आईएईएका सदस्य राष्ट्रसँगै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् र महासभासम्म पुर्याउन आग्रह गरिएको छ ।
प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनीतिक समाधान खोज्नुपर्नेमा पनि जोड दिइएको छ । साथै, सबै पक्षलाई वार्तामा रचनात्मक रूपमा सहभागी हुन आह्वान गरिएको छ । छलफलका क्रममा प्रस्तावमा केही संशोधन हुन सक्ने जनाइएको छ । औपचारिक रूपमा प्रस्ताव पेस भएपछि आगामी साता भियनामा बस्ने आईएईए बोर्डको बैठकमा मतदान हुने अपेक्षा गरिएको छ ।
आणविक अप्रसार सन्धि (एनपीटी) अन्तर्गत इरानले आफ्नो आणविक सामग्री तथा गतिविधिबारे जानकारी उपलब्ध गराउनुपर्ने र आईएईएका निरीक्षकलाई निरीक्षणको अनुमति दिनुपर्ने कानूनी दायित्व छ । यस्तो निरीक्षणमार्फत आणविक सामग्री शान्तिपूर्ण प्रयोजनबाहेक अन्यत्र प्रयोग नभएको सुनिश्चित गरिन्छ ।
तर, सन् २०२५ मा अमेरिका र इजरायलले इरानका आणविक केन्द्रमा आक्रमण गरेपछि तेहरानले प्रभावित स्थलमा आईएईएका निरीक्षकलाई प्रवेश दिएको छैन । यसका कारण एजेन्सीले छ महिनाभन्दा बढी समयदेखि इरानसँग रहेको हतियार निर्माणका लागि उपयोग हुनसक्ने स्तरनजिकको युरेनियम भण्डारको अवस्थासमेत पूर्ण रूपमा प्रमाणित गर्न सकेको छैन ।
आईएईएले निरीक्षकलाई पहुँच नदिइनु तथा आणविक सामग्रीको अवस्थाबारे पुष्टि गर्न नसकिनुले आणविक प्रसारको जोखिम बढाएको चेतावनी दिँदै यस विषयमा तत्काल ध्यान दिनुपर्ने बताउँदै आएको छ ।
आईएईएका अनुसार इरानसँग ४४०.९ किलोग्राम युरेनियमको भण्डार रहेको छ, जसलाई ६० प्रतिशतसम्म शुद्धतामा समृद्ध पारिएको छ । आणविक हतियार निर्माणका लागि सामान्यतया करिब ९० प्रतिशत शुद्धतामा समृद्ध युरेनियम आवश्यक पर्ने मानिन्छ । यस हिसाबले इरानको हालको भण्डार हतियार निर्माणका लागि आवश्यक स्तरभन्दा तल भए पनि प्राविधिक रूपमा उक्त स्तरबाट धेरै टाढा नरहेको बताइन्छ ।
आईएईएका महानिर्देशक राफेल ग्रोसीले गत वर्ष इरानले आफ्नो आणविक कार्यक्रमलाई हतियार निर्माणतर्फ लैजाने निर्णय गरेमा उक्त परिमाणको युरेनियम सैद्धान्तिक रूपमा करिब १० वटा आणविक बम निर्माणका लागि पर्याप्त हुनसक्ने बताएका थिए । यद्यपि, उनले यस्तो क्षमताको सम्भावना हुनु र इरानसँग वास्तविक आणविक हतियार हुनु फरक विषय भएको स्पष्ट पारेका थिए।