काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि प्रहरीले बजारमा निगरानी तथा अनुगमनलाई तीव्रता दिएको छ । ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।
यसैक्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट नेपाल ग्यास कम्पनीका ७०५ वटा भरिएका सिलिन्डर बरामद गरेको छ । प्रहरीले दुईवटा ठूला ट्रकमा लोड गरी राखिएको अवस्थामा ती सिलिन्डर बरामद गरेको जनाएको छ ।
प्रहरीले सुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई समेत पक्राउ गरेको छ । लुइँटेलले प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।
ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका लुइँटेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।