रसुवा । भोटेकोशीको बाढीले क्षतिग्रस्त नागढुंगा–मुग्लिन सडकअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ। सडक भासिएपछि अवरुद्ध बनेको क्षेत्रमा निर्माण व्यवसायीले सडक खुलाउने पूर्वतयारी थालेका हुन्।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार सडकको दुवैतर्फबाट रुख कटान भइरहेको छ। त्यसका लागि २९ जना जनशक्ति परिचालन गरिएको छ। सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा खटिएको छ।
नेपाल जियोटेक सोसाइटीले कृष्णभीरको प्राविधिक अध्ययन गरिरहेको छ। सोसाइटीले बिहीबार बेलुकीसम्म सडक खुलाउने प्रक्रियासम्बन्धी नक्सांकनसहितको प्रतिवेदन बुझाउने तयारी गरेको अधिकारीले बताइन्।
प्रतिवेदन प्राप्त भएपछि पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम औपचारिक रूपमा अघि बढाइनेछ। हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययनसँगै सडक खुलाउन आवश्यक पूर्वतयारी गरिरहेका छन्।