काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन्। प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउनु पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नहुने उनको भनाइ छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सरकारबारे जानकारी दिँदै थापाले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षबीच भएको समझदारीअनुसार प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति रहेको बताए। सोही सहमति कार्यान्वयनका क्रममा एमालेसँग कुरा नमिलेको उनले बताए।
उनका अनुसार, कांग्रेस नेतृत्वमा रहेको प्रदेशमा निश्चित समयपछि एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। “तर हामीलाई सातवटै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलेर संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव आयो,” थापाले भने, “प्रदेशमा प्रतिपक्ष नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि पनि ठीक हुँदैन भनेर हामीले मानेनौँ।”
थापाले मधेस प्रदेशको अवस्था भने विशिष्ट रहेको उल्लेख गरे। त्यहाँ नेकपा, कांग्रेस र एमालेको संयुक्त सरकार रहेको उनको भनाइ छ।
उनले अब संघीय सरकार र प्रतिपक्षको भूमिकामा रहेका प्रदेश सरकारमा पार्टीले कसरी अघि बढ्ने भन्नेबारे थप छलफल आवश्यक रहेको बताए।