काठमाडौं। काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति राजमार्गको स्तरोन्नति कार्यमा करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ। ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर सडकखण्डमा सडक फराकिलो बनाउने, मोड सुधार्ने र पहिरो नियन्त्रणका काम भइरहेको छ।
कान्ति राजमार्ग सडक योजनाले ८० किलोमिटर लामो राजमार्गलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नति गरिरहेको छ। हेटौँडाको बुद्धचोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको राजमार्गमध्ये मकवानपुरमा ५० र ललितपुरमा ३० किलोमिटर पर्छ। योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार लेले–बकैया खण्डमा सम्झौताअनुसारको माइलस्टोन पछ्याउँदै काम भइरहेको छ। “अहिले मुख्य रूपमा संरचना निर्माणको काम भइरहेको छ,” उनले भने, “दुई लेन नपुगेका ठाउँमा सडक फराकिलो बनाउने र मोड सुधारलाई प्राथमिकता दिएका छौँ।”
उक्त खण्डमा प्लम वाल, ग्याबिन, कटिङ तथा पहिरो नियन्त्रणका संरचना निर्माण भइरहेका छन्। बढी भिरालो र पानी जम्ने क्षेत्रमा सिमेन्ट कंक्रिटको रिजिड पेभमेन्ट तथा अन्य क्षेत्रमा अस्फाल्ट कालोपत्रे गर्ने योजना छ। २०८२ जेठ २१ गते ठेक्का सम्झौता भई निर्माणको जिम्मा पाएको कन्काई–ब्राइट मल्टि–दिव्यज्योति जेभीले छपेली र टाकुरचे पहिरोलाई मुख्य चुनौती मानेको छ। “यी क्षेत्रमा वर्षायाममा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेको छ,” निर्माण व्यवसायी राजकुमार बुढाथोकीले भने।
निर्माण कम्पनीले रिजिड पेभमेन्ट, कालोपत्रे, सडक सुरक्षा र बायो–इन्जिनियरिङका काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। समयमै भुक्तानी, बिटुमिन तथा इन्धनको सहज आपूर्ति र मूल्यवृद्धिको उचित सम्बोधन भए काम निर्धारित समयमै सकिने कम्पनीको दाबी छ। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–हेटौँडा यात्रा थप सहज र छोटो हुने अपेक्षा गरिएको छ।