काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्।
मंगलबार बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय सरोकारका विषय र समसामयिक घटनाक्रमबारे विचारविमर्श भइरहेको जनाइएको छ।
प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।
सुनसरीको देवानगञ्ज घटनापछि प्रधानमन्त्री शाह राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन्। यसअघि उनले मधेशवादी दलका नेताहरूसँग छलफल गरेका थिए भने प्रधानमन्त्री बनेको चार महिनापछि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका थिए।