काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य र संगठन सुदृढीकरणको उद्देश्यसहित ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन्। अभियानअन्तर्गत साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने भएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महरले आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको भन्दै कांग्रेसलाई एकताबद्ध बनाउन दबाबमूलक अभियान सुरु गरिएको बताए। देश जटिल परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफ्नै विवादमा अल्झिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।
साउन २० गते बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने राष्ट्रिय भेलामा देशभरका ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिसहित करिब दुई हजार जनाको सहभागिता रहने अभियानले जनाएको छ। ‘यस भेलाको उद्देश्य कसैप्रति पूर्वाग्रही हुनु होइन, देश र काँग्रेसलाई जोड्नु हो,’ महरले भने।
अभियानले कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समितिलगायतका निकायमा सबै पक्षको सर्वसम्मत प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेको छ। पार्टी सभापति र पदाधिकारीलाई व्यक्तिगत अहम् त्यागेर एकताका लागि अघि बढ्न आग्रह गर्दै महरले आवश्यक परे केन्द्रीय सदस्य पदसमेत त्याग्न तयार रहेको बताए।
महरले सुनसरीबाट सुरु भई मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै हिंसामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।
अभियानले राष्ट्रिय भेलापछि देशभर हस्ताक्षर संकलनसहित थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।