‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल - जे देख्छ, त्यहि लेख्छ | KTM Dainik
‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल
केटिएम दैनिक
आइतबार, साउन १७ २०८३
23
SHARES
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा नेपाली पर्वतारोहीहरूको निधनलाई नेपालको पर्वतारोहण इतिहासको अत्यन्तै दुःखद् घटना भएको बताएका छन्।
आइतबार शोक वक्तव्य जारी गर्दै उनले विश्व पर्वतारोहणमा नेपाललाई नयाँ उचाइमा पुर्याएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित उनका साहसी सहयात्री पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
पोखरेलले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाले नेपाल र नेपालीको गौरव अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको उल्लेख गरेका छन्। यस्ता साहसी पर्वतारोहीहरूको असामयिक निधनले राष्ट्रले अपूरणीय क्षति बेहोरेको उनको भनाइ छ।
उनले असम्भवलाई सम्भव बनाउने साहस, दृढता र सङ्कल्पका प्रतीक बनेका नेपाली पर्वतारोहीहरू सधैँका लागि हिमालकै काखमा विलीन हुनु समग्र राष्ट्रका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन्। पर्वतारोहण क्षेत्रले मात्र होइन, मुलुकले आफ्ना अमूल्य राष्ट्रिय धरोहर गुमाएको उनको टिप्पणी छ।
महासचिव पोखरेलले दिवङ्गत पर्वतारोहीहरूको राष्ट्रप्रतिको योगदानको उच्च सम्मान गर्दै पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।