काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आगामी राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता मिनबहादुर विश्वकर्माले मूल आयोजक समितिसहित राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक विभिन्न विषयगत समिति गठन गरिएको जानकारी दिए।
‘राष्ट्रिय भेला मूल आयोजक समिति गठन भएको छ र यसमा ५५१ सदस्य रहने व्यवस्था गरिएको छ,’ विश्वकर्माले भने।
उनका अनुसार मूल आयोजक समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, महानगर तथा नगर सभापति, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री तथा भ्रातृ र शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुख पदेन सदस्य रहनेछन्।
राष्ट्रिय भेला सफल बनाउन राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान संशोधन, आर्थिक नीति, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय तथा सचिवालय व्यवस्थापनलगायतका समिति गठन गरिएको छ। मूल आयोजक समितिसहित कुल १६ वटा समिति रहने विश्वकर्माले बताए।
उनले मूल आयोजक समितिबाहेक अन्य विषयगत समितिका संयोजक र सदस्यको टुंगो केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट लगाइने जानकारी दिए।