ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो गुण करुणा र सहानुभूति भएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा उनले ज्ञान, प्रविधि र सामाजिक सञ्जालको सीप मात्रै नेतृत्वका लागि पर्याप्त नहुने बताउँदै नागरिकको पीडा महसुस गर्न सक्ने संवेदनशीलता नै नेतृत्वको आधार भएको धारणा राखे।
‘जसको मनमा करुणा छैन, सहानुभूति छैन, उसले नेतृत्व गर्न सक्दैन। बाढी, पहिरो, खडेरी वा विपद्का बेला कसले ज्यान गुमायो, कसको बाली नष्ट भयो, कसले खान पाएन भन्ने महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको आधार हो,’ थापाले भने।
सामाजिक सञ्जालको ‘लाइक’ र मानवीय जीवनको ‘लाइफ’ बीच तुलना गर्दै उनले भर्चुअल लोकप्रियताभन्दा नागरिकको जीवन र सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘लाइक र लाइफमध्ये एउटा रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ। लाइफ सबैभन्दा महत्वपूर्ण हो, लाइक पछि आउँछ,’ उनले भने।
थापाले आगामी साउन २४ गतेदेखि कांग्रेसले ‘एनसी फर एनसी’ (नेप्लिज कांग्रेस फर नेसनल कज) अभियान सुरु गर्न लागेको जानकारी दिए। अभियानअन्तर्गत प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा आफूलाई जोड्ने नीति लिइएको उनले बताए। विपद् व्यवस्थापनसम्बन्धी तालिममा सहभागीलाई सिकेका ज्ञान र सीप व्यवहारमा उतार्न तथा समाजसम्म पुर्याउन पनि उनले आग्रह गरे।