काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग तथा नेपाल–जापान सहकार्यको ऐतिहासिक उपलब्धि बताएका छन्। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय ५ देखि ७ मिनेटमा सीमित हुने र यसले सडक सुरक्षासँगै यातायातको दक्षता अभिवृद्धि गर्ने उनले बताए।
सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अकिहिकोले दुई वर्षअघि भएको अत्यधिक वर्षा र त्यसले निम्त्याएको अवरोधका क्रममा सुरुङमार्गको आवश्यकता थप पुष्टि भएको बताए। निर्माणाधीन अवस्थामै पनि उक्त मार्गले आपत्कालीन आवागमन र अत्यावश्यक वस्तुको ढुवानीका लागि वैकल्पिक सम्पर्कमार्गको भूमिका खेलेको उनको भनाइ थियो।
हिमाली भूगर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा पहिरो, चट्टानको विरूपण र जमिनको उच्च दबाबजस्ता चुनौती सामना गर्नुपरे पनि जापानी प्रविधि र नेपाली जनशक्तिको संयुक्त प्रयासबाट ती समस्या समाधान गरिएको उनले बताए। आयोजनामा करिब ९८ प्रतिशत नेपाली इन्जिनियर र कामदारको सहभागिता रहेको उल्लेख गर्दै उनले यसलाई प्रविधि र सीप हस्तान्तरणको उदाहरणसमेत बताए।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा सम्पन्न यस आयोजनाले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाएको उनले बताए। सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा नयाँ प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उनले दिए।
अध्यक्ष अकिहिकोले नेपालको दिगो पूर्वाधार विकासमा जाइकाको सहयोग निरन्तर रहने बताए। सुरक्षित आवागमन, आर्थिक गतिविधि र विपद्का समयमा यातायात सञ्जालको भरपर्दोपन बढाउन सुरुङमार्गले दीर्घकालीन योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।