काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् ।
उनीहरूले संयुक्तरुपमा गृह मन्त्रालयमा जेन जेड आन्दोलनमा घाइते भएका दुई जना र जेन जेड प्रतिनिधिसँग भेट गरेका हुन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन जेडका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
यसअघि आइजिपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि कार्कीले गृहमन्त्री अर्यालसँग उनकै कार्यकक्षमा भेटघाट गरेका थिए ।
भेटमा गृहमन्त्री अर्यालले आइजिपीमा बढुवा भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए ।
सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफू र आफ्नो संगठनले सधैँ जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।