काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी विपद् व्यवस्थापन, उद्धार तथा पूर्वाधार पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्या समाधानसँगै दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझाव दिएका हुन्।
उनले संकटका बेला उद्धार, राहत र पुनर्स्थापनाका कामलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। बाढी–पहिरोका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि तथा उपकरण तत्काल परिचालन गर्नुपर्ने उनको सुझाव थियो।
भौगोलिक विकटताका कारण उपकरण पुर्याउन कठिन स्थानमा हेलिकोप्टरबाट हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि उद्धार तथा पुनर्निर्माणका कामलाई गति दिनुपर्ने घिसिङले बताए।
सडक सञ्जाल पुनःस्थापनाका लागि स्याफ्रुबेँसीलगायत अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानमा बेलिब्रिज निर्माण गर्न उनले सुझाव दिएका थिए।
ऊर्जा क्षेत्रमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले प्रभावित जलविद्युत् आयोजना शीघ्र सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए। उनका अनुसार विपत्तिबाट करिब २३५ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।
घिसिङले भने, ‘निजी क्षेत्रका प्रवर्द्धकलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रिया सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ।’
भेटमा जलविद्युत् आयोजनाको दीर्घकालीन सुरक्षाका लागि डिजाइन पुनरावलोकन, नदी बेसिन व्यवस्थापन तथा जोखिम विश्लेषणका आधारमा नदी किनारमा सडक र अन्य संरचना निर्माण गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री साहले घिसिङले प्रस्तुत गरेका सुझावलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन तथा पूर्वाधार निर्माणमा विज्ञहरूको सल्लाहअनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिएका थिए।