तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँध निर्माणको काम ६२ प्रतिशत पूरा भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार मुख्य बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म ४ लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिसकिएको छ।
उनले आयोजनाको प्रमुख संरचनामध्ये मुख्य बाँधको निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको बताए। बाँधमा कङ्क्रिट भर्ने काम निरन्तर भइरहेकाले आगामी दिनमा निर्माण प्रगति अझ बढ्ने उनको भनाइ छ।
प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले पाएको छ। यस प्याकेजको समग्र भौतिक प्रगति ५९ प्रतिशत पुगेको छ। यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार परिवर्तन गर्न आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ। बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न गर्नुका साथै दुवै किनारमा आठवटा ग्राउटिङ टनेल निर्माण गरिएको छ। मुख्य बाँधमा कङ्क्रिट भर्ने काम २०८१ चैत ७ गतेदेखि सुरु भएको थियो।
बाँधको फाउन्डेसनलाई स्थिर र मजबुत बनाउन विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, कन्सोलिडेसन ग्राउटिङ तथा कर्टेन ग्राउटिङको कामसमेत गरिएको छ।
त्यसैगरी, ढलान स्थिरीकरण र नदी संरक्षणका लागि सटक्रिट गर्ने, वायर मेस जडान गर्ने तथा ग्याबियन निर्माण गर्ने काम पनि निरन्तर भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।