काठमाडौं। नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको अन्तिम बिदाइमा साहित्य, राजनीति तथा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भए।
श्रेष्ठ पछिल्ला ६ दशकदेखि साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषा र नेपाली दुवै भाषामा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए। विशेषगरी नेपाल भाषा साहित्यमा उनको योगदान उल्लेखनीय मानिन्छ। उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
नेपाल भाषा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो। उनलाई २०१० (वि.सं. २०६७) मा प्रतिष्ठित जगदम्बाश्री पुरस्कारबाट पनि सम्मान गरिएको थियो।
श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत सहभागी थिए।