काठमाडौं -प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच भेटवार्ता भइरहेको हो । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष सेठ नेतृत्वको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो ।
नेपाल भ्रमणका क्रममा सेठ सोमबार विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसपछि सैनिक मुख्यालय जंगी अड्डामा उनलाई नेपाली सेनाले सम्मान तथा गारद प्रदान गरेको थियो ।
सोही क्रममा सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटपछि सेठले जंगी अड्डा परिसरमा वृक्षरोपण गरेका थिए ।
त्यसपछि आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
जंगी अड्डाका कार्यक्रम सम्पन्न गरेपछि सेठ पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।