काठमाडौं । बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद प्रकाशसिंह कार्कीले सरकार उद्योग सञ्चालनमा प्रत्यक्ष रूपमा संलग्न हुनुभन्दा निजी क्षेत्रलाई लगानी र उद्योग सञ्चालनका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका छन्।
सांसद कार्कीका अनुसार सरकारको भूमिका व्यापारी बन्ने होइन, व्यापार र उद्योगका लागि आवश्यक वातावरण निर्माण गर्ने हो। उनले सरकारले कारखानाका मेसिन चलाउनेभन्दा नीति, कानुन र नियमनको प्रभावकारी कार्यान्वयनमार्फत निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्ने वातावरण दिनुपर्ने बताए।
उनले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कुल गार्हस्थ उत्पादन र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो हिस्सा रहेको बताए। अब निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई राष्ट्रिय आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
बन्द तथा रुग्ण उद्योगका सम्बन्धमा सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिँदै कार्कीले वर्षौँसम्म घाटामा उद्योग सञ्चालन गरेर जनताको कर खर्च गर्नु समाधान नभएको बताए। सम्भावना भएका उद्योगको व्यावसायिक मूल्यांकन गरी निजी क्षेत्रलाई पारदर्शी प्रतिस्पर्धामार्फत सहभागी गराउन र सक्षम व्यवस्थापनलाई जिम्मेवारी दिनुपर्ने उनको सुझाव छ।
उनले सरकारलाई उद्योग सञ्चालन गर्ने सोचबाट बाहिर निस्कन आग्रह गर्दै भने, “सरकारले उद्योग चलाउने होइन, उद्योग चल्ने वातावरण बनाउने हो।” घाटामा रहेका उद्योगलाई निरन्तर सरकारी बजेटबाट धान्ने र त्यसको भार करदातामाथि पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनले बताए।
पूर्वाधारसँगै उत्पादन र रोजगारीमा जोड
सांसद कार्कीले देशको विकासको प्राथमिकता पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। सडक, पुल, सुरुङ र विमानस्थलजस्ता पूर्वाधार निर्माण आवश्यक भए पनि ती पूर्वाधारबाट नेपाली उत्पादन, रोजगारी र उद्योगले कति लाभ लिन सके भन्ने प्रश्न महत्वपूर्ण रहेको उनको भनाइ छ।
“हामीले सडक बनायौँ, पुल बनायौँ, सुरुङ बनायौँ, विमानस्थल बनायौँ। यी सबै आवश्यक छन्। तर प्रश्न के हो भने यी पूर्वाधार हुँदै जाने बाटोमा नेपाली उत्पादन कहाँ छ? रोजगारी कहाँ छ? उद्योग कहाँ छ?” उनले प्रश्न गरे।
विकासलाई केवल सिमेन्ट र डन्डीको प्रयोगबाट मापन गर्न नहुने बताउँदै उनले “देशको विकास भयो कि विकासको बिल मात्र बढ्यो?” भन्ने प्रश्न पनि उठाए। अब सडकले उत्पादनलाई बजारसम्म पुर्याउने, सुरुङले व्यापारको समय र लागत घटाउने तथा विमानस्थलले पर्यटक, लगानी र व्यापार भित्र्याउने गरी पूर्वाधारको उपयोग सुनिश्चित गर्नुपर्ने उनले बताए।
सोलुखुम्बुको उत्पादनलाई प्रशोधन र ब्रान्डिङमा जोड
आफ्नो गृहजिल्ला सोलुखुम्बु सगरमाथाको जिल्लामात्र नभई कृषि, जलविद्युत् र पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला भएको सांसद कार्कीले बताए। जिल्लाका किसानले आलु, किवी, स्याउ, चौँरीको दूध तथा जडीबुटीजस्ता उत्पादन गर्दै आए पनि अधिकांश अवस्थामा कच्चा पदार्थकै रूपमा बिक्री गर्नुपर्ने अवस्था रहेको उनले बताए।
किसानले उत्पादन गर्ने तर बजार र नाफाको ठूलो हिस्सा अरूले लिने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। सरकारले आफैँ आलुका चिप्स वा अन्य उद्योग सञ्चालन गर्नुभन्दा आवश्यक नीति, पूर्वाधार, सडक र विद्युत् उपलब्ध गराएर निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
सोलुखुम्बुको किवी स्थानीयस्तरमै प्रशोधन गरी जुसलगायतका उत्पादन बनाउन सकिने, स्याउबाट जुस तथा अन्य वस्तु उत्पादन गर्न सकिने र चौँरीको दूधबाट गुणस्तरीय चिज तथा दुग्धजन्य सामग्री उत्पादन गर्न सकिने सम्भावना उनले औँल्याए।
त्यस्तै, जडीबुटीलाई कच्चा पदार्थकै रूपमा बिक्री गर्नुको सट्टा स्थानीयस्तरमै प्रशोधन गरी त्यसको मूल्य अभिवृद्धि गर्नुपर्ने उनले बताए। किसानले कच्चा पदार्थ बेच्ने होइन, आफ्नै उत्पादनको ब्रान्ड बेच्ने अवस्था सिर्जना गर्न सरकारसँग उनले माग गरे।
किसानले पसिना बगाउने र त्यसबाट हुने नाफा अरूले मात्र लिने अवस्थाको अन्त्य गर्दै उत्पादन, प्रशोधन, बजार र ब्रान्डिङसम्म किसानको पहुँच सुनिश्चित गर्नुपर्नेमा सांसद कार्कीले जोड दिए।