काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकमा बीपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडकखण्ड चौडा पारिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल औसत ५.५ मिटर रहेको मुख्य कालोपत्रे सडकलाई विस्तार गरी १० मिटर चौडा बनाइनेछ।
सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्ने काम भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। डीपीआरअनुसार सडक विस्तार तथा कालोपत्रेका लागि करिब ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतिकिलोमिटर कालोपत्रे गर्न मात्रै करिब १८ करोड ५ लाख रुपैयाँ लाग्ने अनुमान छ।
सडक विस्तारका क्रममा आवश्यक पर्ने दायाँ–बायाँ १५ मिटरसम्मका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको कार्यालयले जनाएको छ। विस्तार हुने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्छ।
यसैबीच, २०८१ असोजमा आएको बाढीपहिरोका कारण बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आए पनि अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको छ।
राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चारवटा प्याकेज बनाएर ठेक्का सम्झौता भइसकेको छ। काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ तथा सिन्धुलीतर्फको एक सडकखण्डका लागि करिब १ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबास बीपी राजमार्ग १६० किलोमिटर लामो छ। निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जापान सरकारले राजमार्ग औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।