बिर्तामोड (झापा), १० असोज । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृती नागरिक बचाउ महाअभियानका थप छ जनालाई पक्राउ गरेको छ ।
बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेसँगै उक्त महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेको थियो ।
ट्रक आगजानीमा संलग्न रहेको आरोपमा उक्त महाअभियानको पीडिएफ झापा संयोजक हल्दिवारी गाउँपालिका- १ का ४० बर्षीय भिम तुम्बापो लिम्बु र सह-सचिव बिर्तामोड नगरपालिका–७ का ३३ बर्षीय सुरेश चौधरीलाई यसअगाडि नै पक्राउ गरिसकेको थियो।
ट्रकमा आगजनी गर्ने थप छ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका सबै व्यक्तिहरू दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृती नागरिक बचाउ महाअभियानमा संलग्न छन् ।
पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका-१ घर भएका २४ वर्षीय विवस लिम्बु, ४१ वर्षका विर बहादुर गुरुङ, बुद्धशान्ती गाउँपालिका-४ घर भएका १९ वर्षीय बलिहाङ माबो लिम्बु, अभियानको मेचीनगर नगर ईन्चार्ज समेत रहेका मेचीनगर-६ घर भएका ३२ वर्षीय राजेश महत, अभियानको झापा जिल्ला कोषाध्यक्ष रहेका अर्जुनधारा-१ घर भएका ३८ वर्षीय रुद्र भुजेल, विर्तामोड-३ घर भएका ३५ वर्षीय उदय लिम्बु रहेका छन् ।
उनीहरूलाई मंगलबार झापाको चारपानेबाट पक्राउ गरेर अदालतबाट म्याद थप गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले बताए ।
पक्राउ परेका सबैलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।
आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।