बिर्तामोड (झापा), ८ असोज । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृती नागरिक बचाउ महाअभियानका दुईजना सदस्यलाई पक्राउ गरेको छ ।
बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेसँगै उक्त महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा उक्त महाअभियानको पीडिएफ झापा संयोजक हल्दिवारी गाउँपालिका- १ का ४० बर्षीय भिम तुम्बापो लिम्बु र सह सचिव बिर्तामोड नगरपालिका–७ का ३३ बर्षीय सुरेश चौधरीलाई पक्राउ गरिएको केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका दुवैलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको उनले बताए । ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिए ।
सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।
आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।