रामेछाप, १ असोज । वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरेर आफ्नो घर फर्कने क्रममा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने व्यक्तिलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
गत श्रावण ३० गते जिल्लाको लिखुतामाकोशी गाउँपालिका- ५ नागदह पिपलदिप बस्ने वर्ष ६० कि सुन्तलीमै तामाङलाई आईरन खोला नजिकै स्थानीय १९ वर्षीय चन्द्र घिसिङले आँखामा खुर्सानीको धुलो छर्केर गहगहना लुटपाट गरेका थिए ।
तामाङले दुवै कानमा लगाएको अन्दाजी १.५ तोलाको सुनको रिङ तान्ने क्रममा महिलाको कानको लोती समेत चुँडिएको थियो ।
प्रहरीले घिसिङलाई भाद्र १५ गते पक्राउ गरेर जिल्ला अदालतमा डाँका शीर्षकमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले केटिएम दैनिकलाई बताएका थिए ।
प्रहरीसँगको बयानमा उनले आफूले लुटपाट गरेको कुरा स्वीकारेका थिए भने उनको साथबाट लुटिएको गहना समेत बरामद भएको थियो ।
रामेछाप जिल्ला अदालतले भाद्र ३१ गते घिसिङलाई पुर्पक्षको लागि थुनामा पठाएको रामेछाप जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले जानकारी दिए ।
मुद्दाको अन्तिम फैसला नआउन्जेल घिसिङ जेलमै बसेर मुद्दा लड्नुपर्ने हुन्छ ।