रामेछाप, १६ भाद्र । रामेछापमा एकल महिलामाथि लुटपाट गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
गत श्रावण ३० गते लिखुतामाकोशी गाउँपालिका- ५ नागदह पिपलदिप बस्ने वर्ष ६० कि सुन्तलीमै तामाङलाई एक अपरिचित व्यक्तिले लुटपाट गरेका थिए ।
वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरेर आफ्नो घर फर्कने क्रममा तामाङलाई आईरन खोला नजिकै एक अपरिचित व्यक्तिले लुटपाट गरेका थिए ।
आँखामा खुर्सानीको धुलो दलेर दुवै कानमा लगाएको अन्दाजी १.५ तोलाको सुनको रिङ लिएर ती व्यक्ति फरार थिए । लुटपाटको क्रममा महिलाको कानको लोती चुँडिएको थियो ।
यही घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति सोही वडाको आहालडाँडा बस्ने वर्ष १९ को चन्द्र घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए । उनलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीसँगको बयानमा उनले आफूले लुटपाट गरेको कुरा स्वीकारेको र उनको साथबाट लुटिएको गहना समेत बरामद भएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।
घिसिङउपर रामेछाप जिल्ला अदालतबाट डाँका शीर्षकमा म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।