काठमाडौँ, १९ भाद्र । प्रशासनले काठमाडौँको गौशला-मित्रपार्क-गुहेश्वरी लगायतका क्षेत्रमा दुई दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ ।
हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) पर्व, २०८१ लाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्नको लागि चार किल्ला तोक्दै जिल्ला प्रशासन कार्यालयले मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज एक सूचना जारी गर्दै भोलीदेखि भदौ २२ गतेसम्म रोक लगाइएको जनाएका छन् ।
गौशाला मित्र पार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा दुई दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको हो ।
कोही कसैले सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।
यसअगाडि प्रशासनले एक सूचना जारी गर्दै तीजमा अनावश्यक तडकभड्क नगर्न आग्रह गरेको थियो ।