पाँचथर, १४ भाद्र । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँमा विस्फोटमा परेर दाजु बहिनीको निधन भएको स्थान नजिकै एक शङ्कास्पद बस्तु फेला परेको छ ।
स्थानीय आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र २ बर्षीया प्रिन्सा सावाको निधन भइसकेको छ । उनीहरू नातामा दाजु बहिनी पर्दछन् ।
विस्फोट भएको घर पछाडि बारीको कान्लामा आज शङ्कास्पद डल्लो बस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेक पाँचथरबाट खटिएको सेनाको टोलीले आज बिहान ११:२५ बजे उक्त शङ्कास्पद बस्तु निष्क्रिय पारेको छ ।
उक्त शङ्कास्पद बस्तु होममेड सकेट भनेर पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रहरी निरीक्षक बिना लाल साह तेलीले केटिएम दैनिकलाई बताए।
केरुङको घरमा विगत १० वर्षदेखि ज्ञान बहादुर राईको स-परिवार बस्दै आइरहेको थियो ।
हिजो दिउँसो ३:०० बजे भएको विस्फोटमा परेर सोही घरका १३ वर्षीय पवन राई र छिमेकी सात वर्षको दिप्सन राई घाइते भएका छन् ।
निधन भएका दुवै जना छिमेकी दिलीप सावाका छोराछोरी हुन् । प्रिन्सा सावाको जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार हिजो दिउँसो छरछिमेकका बालबालिकाहरू आँगनमा खेलिरहेको अवस्थामा अचानक विस्फोट भएको थियो ।