चितवन । चितवनमा गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना, दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष दसैँ अवधिमा सवारी दुर्घटना करिब ७३ प्रतिशतले घटेको हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते भएका थिए।
चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना २४ वटाले घटेको छ। त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले कमी आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, सवारी जाँचमा कडाइ, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतना अभियानका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताए।
उनका अनुसार जिल्लाका प्रमुख स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी गर्नु, ट्राफिक प्रहरीले बडी वोर्न क्यामेरा प्रयोग गर्नु तथा मुख्य सडकखण्डमा सवारी जाँचलाई कडाइ गर्नुले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ।
चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुका साथै निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गरिएकाले पनि दुर्घटना र मानवीय क्षति घटाउन योगदान पुगेको प्रमुख थापाले बताए।