काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको शोक वक्तव्यमा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य समेत रहेका गौतमको निधनले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गौतमलाई सङ्घर्षशील, सादगी, सरल, इमानदार र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गर्दै अध्यक्ष ओलीले उनको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रका सच्चा जनसेवक गुमाएको उल्लेख गरेका छन्।
वि.सं. २००२ मा गुल्मीको थोर्गामा जन्मेका गौतमले वि.सं. २०२३ मा बनारसमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। उनले बाँके र नेपालगञ्जलाई आफ्नो कर्मथलो बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए।