भक्तपुर। मल्लकालीन युद्धकला र परम्परा झल्काउने खाँ पिहाँवइगु जात्रा बुधबार मध्यपुरथिमिमा सम्पन्न भएको छ। विजयादशमीको भोलिपल्ट पापांकुशा एकादशीका दिन मनाइने यो जात्रामा सहभागीले परम्परागत हातहतियारसहित युद्धकला प्रदर्शन गरेका थिए।
तत्कालीन राजदरबार लायकुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, भाला र युद्धकवजसहित जात्रा निकालिएको थियो। गुठियारले सेतो जामा लगाएर मल्लकालीन युद्धको झल्को दिने गरी नगरका विभिन्न टोलमा युद्धकला प्रदर्शन गरेका थिए।
संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार जात्रा लायकु दरबारबाट माथिल्लो टोलअन्तर्गत इनायेटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र तल्लो टोलअन्तर्गत दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो। जात्रामा तलेजु भवानीलाई महानवमीमा चढाइएको बलि, कोतभित्रका देवता र दरबारको राजदण्डसमेत नगर परिक्रमा गराइएको थियो।
जात्रामा नायः पःमां, कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति) र खड्गी समुदायको सहभागिता रहने गर्छ। महानवमीको राति तलेजुमा महिषासुरको प्रतीकका रूपमा बलि दिइएको राँगाको टाउकोसमेत प्रदर्शन गरिन्छ। असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा युद्धकला प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने परम्परा रहेको श्रेष्ठले बताए।
जात्राको अन्तिम चरणमा बालकुमारीस्थित कालो ढुंगाको प्वालमा राखिएको भुइँफर्सी (कुभिन्डो) मा पमा नाइकेले प्रहार गरी बलि दिने चलन छ। प्रसादका रूपमा उक्त कुभिन्डो ग्रहण गरे रोगबाट बच्न सकिने जनविश्वास छ। यही परम्पराका कारण जात्रालाई ‘भुइँफर्सी पालेगु जात्रा’ पनि भनिन्छ।
जात्रा अवलोकन गर्न स्थानीयवासीका साथै विभिन्न स्थानबाट आएका दर्शकको भीड लागेको थियो।