रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षासम्बन्धी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताएका छन्।
सोमबार मर्चवार क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेनको सडक विस्तार गर्ने योजना अघि बढाइएको छ। पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
त्यस्तै, पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्री लम्सालले बताए।
सडक पूर्वाधार विस्तारले स्थानीयको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने उनले बताए। मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उनको भनाइ छ। यसका अतिरिक्त मुख्य तथा ग्रामीण सडकको निर्माण र स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिने उनले बताए।
अनुगमनका क्रममा स्थानीयवासीले सर्पदंश उपचार सेवासहितको अस्पताल स्थापना गर्न माग गरेका थिए। त्यसप्रति प्रतिबद्धता जनाउँदै मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाइने बताए। स्थानीयस्तरमै अस्पताल स्थापना गर्न सके स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने उल्लेख गर्दै उनले स्वास्थ्य चौकीको स्तरोन्नतिलाई समेत प्राथमिकता दिइने बताए।
त्यसैगरी, मर्चवार क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गरिने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लगिने उनले जानकारी दिए।
मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताए। अनुगमनका क्रममा स्थानीयवासीले उठाएका माग तथा समस्याको अध्ययन गरी सडक, स्वास्थ्य र शिक्षासम्बन्धी योजनालाई कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ।