काठमाडौं । देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको अन्तिम खेलमा २८१ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए । उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६९ रन जोडे ।
त्यस्तै, ओपनर देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए ।
नेपालले ९९ रन बनाउँदा तीन विकेट गुमाएको अवस्थामा रोहित र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । उनीहरूको साझेदारीपछि नेपाल २३८ रनमा तीन विकेटको अवस्थामा पुगेको थियो ।
तर, त्यसपछि नेपाली ब्याटरहरू लगातार आउट हुँदा टोलीले बलियो फिनिसिङ गर्न सकेन । अन्तिमतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए ।
ओमानका शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए । जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे ।
नेपाललाई जित्नैपर्ने दबाब
लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार क्यानडासँग पराजित भएको थियो ।
नेपालसँगको जितपछि क्यानडा ३६ खेलमा २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको थियो । ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो ।
अब ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ । लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।