काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राई पनि रहेकी छन्। दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पतालमा तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ।
उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको विद्युतीय गाडी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय सुमन श्रेष्ठको ज्यान गएको छ। उनी स्थानीय बासिन्दा हुन्।
धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ र म प्र ०२–००९ प ११५७ नम्बरका दुई मोटरसाइकल ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलमा बीआर ३८ एच ३५०४ र प्र १–०२–०४५ प ८९६६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ।
रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी ७० वर्षीया सोमरियादेवी ठाकुरको ज्यान गएको छ।
त्यस्तै, रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो दुर्घटना हुँदा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।