चन्दा क्षेत्री/केटिएम दैनिक
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटिएपछि हार बेहोर्न बाध्य भएको हो।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ११२ बलको सामना गर्दै चार चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको यो सातौँ खेलमा पहिलो अर्धशतक हो।
नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए। इशान पाण्डे र गुलशन झाले समान २१ रन जोड्दा आसिफ शेखले २० तथा कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए। करण केसी १७ रनमा अविजित रहे। बलिङतर्फ क्यानडाका सुखजिन्दर सिंहले तीन विकेट लिए भने कलिम सना र शील पटेलले समान दुई विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। उसका ओपनर युवराज सम्राले शतकीय पारी खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। उनले ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो।
क्यानडाका लागि आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रनको योगदान दिए।
नेपालका ललितनारायण राजवंशीले सर्वाधिक चार विकेट लिए। कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहितकुमार पौडेलले एक विकेट लिए पनि क्यानडालाई ठूलो योगफल बनाउनबाट रोक्न सकेनन्।
यस हारसँगै नेपाल विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको छ। शीर्ष छभित्र रहेर आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना कायम राख्न नेपालले अब अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ। नेपाल र ओमानबीचको खेल सोमबार हुनेछ।